Section 86
सूचना, तथ्यांक तथा विवरण माग गर्न सक्ने
(१) दफा ८५ बमोजिम निरीक्षण तथा जाँचबुझ गर्दा बोर्ड वा निरीक्षण तथा जाँचबुझ गर्नका लागि अधिकार प्राप्त व्यक्तिले वा दफा १०३ बमोजिम तहकिकात गर्दा तहकिकात गर्ने अधिकारीले सम्बन्धित धितोपत्र बजार, धितोपत्र व्यवसायी, धितोपत्र व्यवसायीको प्रतिनिधि तथा धितोपत्र दर्ता गराएका संगठित संस्थासँग निरीक्षण तथा जाँचबुझका सिलसिलामा आवश्यक देखेका कुनै पनि सूचना, तथ्यांक तथा विवरण माग गर्न सक्नेछ । (२) बोर्डले धितोपत्र कारोबारलाई नियमित तथा व्यवस्थित गर्ने प्रयोजनका लागि धितोपत्र बजार, धितोपत्र व्यवसायी, धितोपत्र व्यवसायीको आधिकारिक प्रतिनिधि धितोपत्र दर्ता गराएका संगठित संस्था धितोपत्र कारोबारको हिसाब राफसाफ गर्ने संस्था तथा डिपोजिटरीसँग धितोपत्र वा धितोपत्र कारोबारसँग सम्बन्धित कुनै पनि सूचना, तथ्यांक तथा विवरण माग गर्न सक्नेछ । (३) उपदफा (१) र (२) बमोजिम मागिएको सूचना, तथ्यांक तथा विवरण उपलब्ध गराउने कर्तव्य सम्बन्धित धितोपत्र बजार, धितोपत्र व्यवसायी, धितोपत्र व्यवसायीको आधिकारिक प्रतिनिधि, धितोपत्र दर्ता गराउने संगठित संस्था, धितोपत्र कारोबारको हिसाब राफसाफ गर्ने संस्था तथा डिपोजिटरीको हुनेछ । (४) दफा ८५ बमोजिम निरीक्षण तथा जाँचबुझ गर्दा बोर्ड वा निरीक्षण तथा जाँचबुझ गर्नका लागि अधिकार प्राप्त व्यक्तिले वा दफा १०३ बमोजिम तहकिकात गर्दा तहकिकात गर्ने अधिकारीले आवश्यक देखेको कुनै पनि सूचना, तथ्यांक, कागजात अभिलेख, विवरण तथा कुनै पनि उपकरण आफ्नो कब्जामा लिन सक्नेछ ।